समुदायका ज्येष्ठ नागरिकहरूलाई ठग्ने दुई नेपाली नागरिक सिड्नीको टेलोपीबाट पक्राऊ

समुदायका ज्येष्ठ नागरिकहरूलाई ठग्ने गरेको एक अन्तर्राष्ट्रिय धोकाधडी गिरोह माथि भइरहेको अनुसन्धानका क्रममा न्यु साउथ वेल्स प्रहरीले दुई नेपाली नागरिकहरू पक्राउ गरेको छ।

NSW Police could face class action over strip searches

NSW Police has arrested two Nepali nationals as a part of investigations into an international fraud syndicate Source: Getty

गत शुक्रवार - १९ जुनका दिन एक ८५ बर्षिया वृद्धाले आफू “स्क्याम”को तारो बनेको भन्ने उजुरीका आधारमा कम्बर्ल्याण्ड प्रहरी वृत्तका अनुसन्धानकर्ताहरुले आफ्नो छानबिन गर्दै जाँदा, सोमबार २२ जुनमा टेलोपिमा रहेको एक घरबाट १९ वर्षीय नेपाली पुरुष तथा २२ वर्षिया नेपाली महिला गरी दुई जना पक्राउ परेका हुन्।

हाल उनीहरू दुवै माथि कथित रूपमा बेइमानी पूर्वक धोका दिएर सम्पत्ति आर्जन गरेको पाँच आरोपहरू र जानीजानी नै आपराधिक क्रियाकलापबाट आर्जन गरिएको सम्पत्ति कारोबार गरेको तीन आरोपहरू न्यु साउथ वेल्स प्रहरीले लगाएको छ।

यसै बिच, मङ्गलवार प्यारामाट्टा स्थानीय अदालत समक्ष उपस्थित हुन पक्राउ परेका नेपालीद्वयले दिएको जमानतको अर्जी अस्वीकार गरिएको छ।

प्रहरीका अनुसार ती ८५ वर्षिया महिलाले उनको आफ्नो ब्याङ्कको प्रतिनिधि भन्दै आफूकहाँ फोन आएको र उनको खातामा व्यवधान उत्पन्न भएका कारण नयाँ खाता खोल्नु पर्ने बताएकी थिइन्।

उनलाई उक्त फोन कलका बखत उनको घर आउने एक पुरुष कुरियर कर्मचारीलाई ३००० डलर नगद दिन भनिएको पनि प्रहरीले बताएको छ।

प्रहरीलाई उजुरी गरिसकेपछि पनि ती महिलाले उक्त गिरोहका सदस्यहरूद्वारा गरिएको भनिएको अन्य फोन कलहरू मार्फत थप ५,००० डलर नगद माग भएको र सो नगद पनि एक पुरुष कुरियरले सोमबार - २२ जुनका दिन सङ्कलन गर्न आउने बताइएको ती वृद्दाले न्यु साउथ वेल्स प्रहरी समक्ष बयान दिएकी थिइन् ।

भारतबाट सञ्चालित उक्त परिष्कृत जालसाजी गिरोहका अस्ट्रेलियामा रहेका सदस्यहरूले नगद सङ्कलन गरेर विद्युतीय रूपमा रकम विदेश पठाउने गरेको र सप्ताहान्तभर गरिएको थप अनुसन्धानका क्रममा प्रहरीले थप पीडितहरूको पहिचान गर्दै जाँदा उनीहरूले पनि आफूहरूलाई ती उजुरीकर्ता ८५ वर्षिया महिलालाई झैँ फोनहरू आउने गरेको खुलेको बताइएको छ।

त्यसरी आउने फोनमा कि त ती सुरक्षा तोडिएका ब्याङ्क खाता सम्बन्धित कार्डहरू वा नगदै कुरियरलाई दिन भनिएको पीडित पक्षले प्रहरीलाई बयान दिएको बुझिएको छ।

न्यु साउथ वेल्स प्रहरीले भने उक्त गिरोह माथि अनुसन्धान जारी रहँदा यस्तै प्रकारले सम्पर्क गरिएका मानिसहरूलाई अगाडी आउन आग्रह गर्दै जालसाजी गतिविधि बारेको जानकारी भए जो कोहीलाई पनि “क्राइम स्टपर्स”लाई १८०० ३३३ ००० मा सम्पर्क गर्न भनिएको छ ।

न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल मार्फत आपराधिक क्रियाकलापको उजुरी नगर्न सर्वसाधारणलाई सम्झाएको छ।


Share
Published 23 June 2020 10:29am
Updated 24 June 2020 10:06am


Share this with family and friends