तलब ठगी प्रकरण: सबवे माथि फेयर वर्कद्वारा अनुसन्धान सुरु

सबवेका फ्रानचाईजीहरुद्वारा तलब ठगी गरेको सम्बन्धमा फेयर वर्क अम्बड्समनले अनुसन्धान सुरु गरेको छ।

Australia, Sydney, Central Business District, Subway sandwich shop employee smiling

愛爾蘭最高法院裁定三文治連鎖店Subway的麵包實際上並不是麵包? Source: Jeff Greenberg/Universal Images Group via Getty Images

अमेरिकी कम्पनी सबवेका स्थानीय साझेदारहरूले सञ्चालन गरेको व्यवसायमा काम गर्ने कर्मचारीहरूलाई कम तलब दिइएको बारे फेयर वर्क अम्बड्समनले अनुसन्धान सुरु गरेको छ।

आफूबाट समबंधन प्राप्त व्यवसायहरू माथि अस्ट्रेलियाको नियामक संस्थाले अनुसन्धान सुरु गरेको चाल पाएपछि सबवेका अमेरिकी सञ्चालकहरूद्वारा कामदारहरूको शोषणमा लागेका त्यस्ता फ्रानचाईजीहरुको सम्बन्धन रद्द गर्न सक्ने बताएको छ।

फेयर वर्क अम्बड्समनले आफूहरूद्वारा उक्त अमेरिकी फास्ट फुड रेस्टुरेन्टको अस्ट्रेलियामा रहेका व्यवसायहरू माथि आफूले अनुसन्धान जारी राखेको अवस्थामा थप केही बोल्न उपयुक्त नहुने बताएको छ।

उता, सबवेले भने आफूबाट सम्बन्धन प्राप्त अस्ट्रेलियाका व्यवसायीहरूले यहाँको नियमहरूको पालना गर्नै पर्ने आवश्यकता रहेको प्रतिक्रिया दिएको छ।

मेलबर्न र सिड्नीबाट प्रकाशित हुने दी एज र सिड्नी मर्निङ्ग हेराल्डसँग बोल्दै सबवेका एक प्रवक्ताले भने, “ (स्थानीय रूपमा लागू) नियमहरू मान्नुपर्ने प्रतिबद्धता तोड्दा उनीहरूको सम्बन्धन खारेज हुनसक्छ।”

उनका अनुसार त्यसरी सम्बन्धन लिएर सबवेका रेस्टुरेन्टहरू चलाउने व्यवसायीहरूले त्रैमासिक रूपमा आफ्ना कर्मचारी रेकर्डको लेखा परीक्षण गरेको हुनुपर्छ।

यसका साथै, सबवेको मुख्यालयद्वारा पनि सक्रिय रूपले वा सिफारिसका आधारमा रोजगारी र आर्थिक रेकर्डहरूको जाँच गरिने पनि उनले बताए।

“सबवेका सबै रेस्टुरेन्टहरूले आफ्ना कामदारहरूलाई उनीहरूले काम गरेको समय अनुरूपले पारिश्रमिक प्रदान गर्नुपर्छ, तालिममा खटाएको अवधि सहित,” ती प्रवक्ताले भने।

“यदि कुनै पनि कामदारले सबवे फ्रानचाईका धनीहरूद्वारा आफूलाई ठिक पारिश्रमिक प्रदान नगरिएको ठान्छन् भने उनीहरूले सबवेको कर्मचारीहरूका लागि समर्पित गरिएको एक विशेष फोन नम्बर मार्फत सबवेलाई खबर गर्न हामी प्रोहत्सान गर्छौँ।”
तर, फ्रानचाईजीहरुमा कार्यरत कामदारहरूलाई तलब तल-माथि परेको बारे सक्रिय रूपमा गुनासो पोख्न र ती फ्रानचाईजीहरु रोजगारी र आर्थिक रेकर्डहरूको जाँच गरिने दाबी सही नरहेको एक कर्मचारी युनियनसँग आबद्ध “दि यङ्ग वर्कर्स सेन्टर” नामक संस्थाबाट सबवेमा काम गर्न पठाइएका व्यक्तिहरूको कथन छ।

ती मध्ये एक - अस्कर मचेनका अनुसार १८ वर्षको उमेर देखि आफूले विभिन्न सबवेहरुमा काम गरेता पनि ती सबै रेस्टुरेन्टहरूमा आफूले कानूनी रूपमा पाउनुपर्ने रेट भन्दा निकै कम तलब पाएका थिए।

“उनीहरू सधैँ कसरी कम तलब दिन सकिन्छ भन्ने कुरामा बढी ध्यान दिन्थे ,”हाल सबवेमा काम नगर्ने मचेन भन्छन्।

“सबवे युनिभर्सिटी”बाट गर्नुपर्ने बेतलबी तर अनिवार्य तालिम प्रति आफू निकै चिन्तित रहने गरेको पनि मचेनको भनाइ छ।

“मैले त्यो तीन पटक गरेँ - अनलाइन भएकाले घर मै बसेर आफू अनुकूलको समयमा गर्न मिल्ने त्यो तालिम गर्न पाँचदेखि छ घण्टा लाग्ने गर्थ्यो। अनि त्यो सकाउन प्रश्नोत्तरहरू पनि गर्नुपर्थ्यो।”

तालिमहरूमा भाग लिँदा आफूहरूलाई ५० डलर दिइने बताइए उक्त रकम कहिल्यै प्राप्त नभएको पनि उनको भनाई थियो।
दि यङ्ग वर्कर्स सेन्टरकी वकिल फेलिसिटी सोवरबट्स सबवेका कामदारहरूले कम तलब पाएको, पुराना जमानाका सम्झौताहरू प्रयोग गरेको, पेनाल्टी रेट उपलब्ध नरहेको र गाली गलौज एवं डर र घम्कीको सामना गर्नुपरेको बताउँछिन्।

“सबवेमा काम गर्ने प्राय व्यक्तिहरू किशोरावस्थामा हुन्छन् र त्यो नै उनीहरूको लागि पहिलो कार्यस्थल। यस्ता युवाहरूले आफ्नो पहिलो काम त सुखद अनुभव हुनुपर्ने हो,” उनले भनिन्।
“तर, दुर्भाग्य नै भन्नुपर्छ जब तपाईँको जीवन कै पहिलो काम डर र धम्कीबाट सुरु हुन्छ।”
सबवेमा काम गरेकी एक अर्की पूर्व कामदार रीनी म्कार्थीका अनुसार सबवेको मुख्यालय खाली कामदारको नाम अङ्कित ब्याज र पोसाक बारे मात्र ध्यान दिन्छ।

“उनीहरूका लागि छवि नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो,” उनले भनिन्।

“महिनामा एक पटक उनीहरू जाँच पड्ताल गर्न आउँछन् र पसलमा त्यो दिन हरेक कुरा सर्वोत्तम हुन्छ किनकि हेड अफिस आउने कुरा सबैलाई पहिले देखि नै थाहा हुन्छ।

तर, उनीहरूले कहिल्यै पनि तलब बारे वा अन्य कुनै कुरामा ध्यान नै दिँदैनन्,” म्कार्थीले भनिन्।

च्यानल टेनको “दि प्रोजेक्ट” कार्यक्रममा उपस्थित भएपछि आफूलाई तिर्न बाँकी तलब पाएकी म्कार्थीले आफू कार्यरत सबवेको फ्रानचाईजबाट धम्की पूर्ण व्यवहारको सामना गर्नुपरेको पनि बताइन।

“एक दिन म काम गर्ने फ्रानचाईजका मालिकले टेक्स्ट मेसेज पठाए - लेग्गिङ्ग लगाएको रै छ, जिन्स लाएर आउनु पर्थ्यो - म घरबाट (सिसिटिभी) क्यामेरा मार्फत सबै देखिरहेको छु,” म्कार्थीले सुनाइन।
सोवरबट्स अस्ट्रेलियामा १००० भन्दा बढी फ्रानचाईजहरु भएको सबवेले कामदारहरूको सुरक्षा र तलब चाहिँ आफूले सम्बन्धन दिएकाहरूले हेर्नुपर्ने अनि आफूले चाहिँ ती कार्यस्थलहरूमा काम गर्नेहरूले ठिक पोसाक लगाएको छन् की छैनन्, खानेकुराहरू राम्ररी सजाइएको छ की छैन हेर्न निरीक्षकहरू पठाउने कुरा सही नभएको बताउँछिन्।
“हाम्रो बिचारमा सबवेले कर्मचारी सम्बन्धी आफ्नो उत्तरदायित्वलाई आँखा चिम्लिनु ठिक कुरा होइन।”

खस्कँदो व्यापार

FILE - This Aug. 11, 2009, file photo, shows a chicken breast sandwich and water from subway on a kitchen counter in New York. Subway, the world's largest fast food chain, is facing criticism after an Australian man posted a picture on the company's Faceb
Source: AP


दि एज र सिड्नी मर्निङ्ग हेरल्डको एक संयुक्त अनुसन्धानले उक्त अमेरिकी फास्ट फुड कम्पनीको अस्ट्रेलियन व्यवसायहरू घाटामा सञ्चालन भइरहेको र अनेकौँ रेस्टुरेन्टहरू बन्द हुने अवस्थामा रहेको उल्लेख गरेको छ।

साथै, ती दैनिक पत्रिकाहरूका अनुसार, उक्त कम्पनीले रेस्टुरेन्टहरू स्तरोन्नतिका लागि धेरै रकम तिर्न भनेपछि कतिपय सञ्चालकहरू रुष्ट भएको पनि जनाएको छ।

ती पत्रिकाहरूले पाएको भनिएको सबवेको लेखा परीक्षण रिपोर्टहरू अनुसार उक्त कम्पनीले अस्ट्रेलियामा गर्ने कारोबारमा ह्रास आएको छ।
अस्ट्रेलियामा सन् २०१६ मा ८ करोड ८४ लाख युरोको कारोबार गरेको सबवेको कारोबार २०१७ मा ७ करोड ७६ लाख युरोमा झरेको बताइएको छ।

सन् २०१५मा संस्थापक फ्रेड डिलुकाको मृत्यु र ब्रान्ड एम्बेसडर जेरड फोगलको बाल यौन शोषण एवं अश्लील सामग्री सम्बन्धी अपराधहरूमा दोषी भेटिनु पनि सबवेका लागि थप समस्याका कारणहरू भएको बताइएको छ।

सबवेका एक प्रवक्ताका अनुसार अस्ट्रेलियामा हाल १,३५३ सबवे रेस्टुरेन्टहरू सञ्चालनमा रहेका छन्।

ती मध्ये केही पसलहरू मर्मत र स्तरोन्नतिका लागि अस्थायी रूपमा बन्द रहेको पनि उनको भनाइ छ।

तर, उपभोक्ताहरूको बदलिँदो स्वादका बिच धेरै सबवे रेस्टुरेन्टहरू राम्ररी चल्न सङ्घर्षरत रहेको पनि बताइएको छ।

कमर्सियल रियल इस्टेट नामक व्यावसायिक घर-जग्गा सम्बन्धी जानकारी राख्ने एक वेबसाइटका अनुसार अस्ट्रेलियामा हाल १२५ सबवेका पसलहरू ९८,००० डलर देखि ४९५,००० डलरसम्मको रकममा बिक्रीका लागि उपलब्ध छन्।



Share
Published 12 August 2019 4:34pm
Updated 16 August 2019 3:54pm
By SBS Nepali
Source: The Age


Share this with family and friends