नेपालीलाई कम तलब दिने होबार्टको खाद्य कारोबार सञ्चालकहरूलाई हजारौँ डलर जरिमाना

टास्मेनियाको राजधानी होबार्टमा भारतीय खानाहरू बेच्ने एक व्यवसायका सञ्चालकहरूलाई ४२,३३६ डलर जरिमाना तिर्न अस्ट्रेलियाको सङ्घीय अदालतले आदेश दिएको छ।

Fair Work Ombudsman released a new app for Australian Workers.

A Fair Work Ombudsman office Source: Fair Work Ombudsman

सत्र जना कर्मचारीहरूलाई तलब दिँदा उनीहरूले पाउनु पर्नेभन्दा कुल ६३,००० डलर कम भुक्तानी गरेको भन्दै, फेयरवर्क अम्बड्समनले फेडेरल सर्किट एन्ड फ्यामिली कोर्टमा चेलिया फ्यामिली ट्रस्टका सञ्चालकहरू विरुद्ध मुद्दा दायर गरेको थियो।

एक कर्मचारीबाट सहयोगको लागि गरिएको आह्वान पछि फेयर वर्क अम्बड्समनले अनुसन्धान सुरु गरेको थियो।

यसरी कम तलब पाउने कर्मचारीहरूमा तीन भिसावाहकहरू रहेका र ती मध्ये एक जना भने नेपालका नागरिक रहेको अम्बड्समनले एक विज्ञप्ति मार्फत बताएको हो।

अन्य दुई भिसावाहकहरू भने भारतीय नागरिक रहेको अम्बड्समनले जनाएको छ।

सत्चिथानन्थ एन चेलिया र महेश्वेरी तूलसेरम ट्रस्टीहरू रहेको उक्त ट्रस्टले होबार्टको ह्यारिङ्गटन स्ट्रिटमा लिटल इन्डिया नामक एक टेक-अवे व्यावसाय सञ्चालन गर्दै आएको छ।

फेयर वर्कले अदालतमा मुद्दा दायर गर्दा ती विवाहित दम्पतीले क्याजुअल फास्ट फुड कर्मचारीहरूलाई १० डलर प्रतिघण्टाको दरले तलब दिएर फेयर वर्क ऐन तोडेको आरोप लगाइको थियो।
superfund
Source: Getty Images
यसो गर्दा प्रतिघण्टा भुक्तानी हुनुपर्ने न्यूनतम तलबभन्दा कम रकम मात्र ती कर्मचारीहरूले प्राप्त गरेका थिए।

फेयर वर्क अम्बड्समनका अनुसार फास्ट फुड इन्डस्ट्री अवार्ड २०१० अन्तर्गत क्याजुअल लोडिङ (क्याजुअल कर्मचारीले पाउने अतिरिक्त भुक्तानी), विकेन्ड पेनाल्टी (सप्ताहान्तमा काम गर्दा भुक्तानी गर्नुपर्ने थप रकम) र सार्वजनिक बिदाका दिनमा काम गर्दा कर्मचारीलाई दिइनुपर्ने तलब दर अनुसारको भुक्तानी ती कामदारहरूले पाएका थिएनन्।

कामदारहरूले प्रतिव्यक्ति २७० देखि १५,२२४ डलरसम्म कम भुक्तानी पाएको पनि अम्बड्समनको भनाई छ।

कम तलब भुक्तान गर्नुका अलावा ती ट्रस्टीहरूले पे स्लिप र लगत राख्नुपर्ने आवश्यकताहरू पनि पुरा गरेका थिएनन्।

फास्ट फुड, रेस्टुरेन्ट र क्याफे क्षेत्रमा अनुपालन सुधार गर्न र कमजोर कर्मचारीहरूको सुरक्षालाई प्राथमिकता दिन आफूहरूले काम जारी राखेको बारे व्यापार सञ्चालकहरू सचेत हुनुपर्नेमा फेयर वर्क अम्बड्समन सान्ड्रा पार्करले जोड दिएकी छिन्।
Sandra Parker
FWO Sandra Parker said business operators should be aware the FWO continues to prioritise improving compliance in the fast food, restaurant and café sector. Source: FWO
उनी भन्छिन् कि आप्रवासी तथा किशोर उमेरका कामदारहरू शोषणको चपेटामा पर्न सक्छन्।

“र, हामी उनीहरूको कार्यस्थलिय अधिकारहरूको रक्षा गर्न कदाचित पनि हिचकिचाउने छैनौँ,” विज्ञप्ति मार्फत उनले भनेकी छिन्।
“आफ्नो तलब वा अधिकारको बारेमा चिन्ता भएका कुनै पनि कर्मचारीहरूले निःशुल्क सल्लाह र सहयोगको लागि हामीलाई सम्पर्क गर्नुपर्छ।”
सङ्घीय अदालतका उप-प्रधानन्यायाधीश पट्रिजिया मर्करीले अरूलाई फेरी यस्ता गलत कार्यहरू गर्नबाट दुरुत्साहित गर्ने गरी आफूले दण्ड निर्धारण गर्नु पर्ने भन्दै आफ्नो फैसला सुनाएकी थिइन्।

“सामान्यतया कम उमेरका र विदेशी विद्यार्थीहरू जस्ता सीमित समय मात्र काम गर्न पाउने भिसामा रहेका कमजोर कामदारहरूलाई आकर्षित गर्ने उद्योगहरूमा यो अझै जरुरी छ,” उनले भनिन्।

ट्रस्टीहरूले अज्ञान तथा उपयुक्त सल्लाह नलिएका कारण आफूहरूद्वारा नियमहरूको अवहेलना भएको स्वीकार गरेता पनि उप-प्रधानन्यायाधीशले यस्ता मामिलाहरूमा कानुनको ज्ञान थिएन भनेर उन्मुक्ति नपाइने पनि बताएकी थिइन्।

दण्ड जरिमानाका अलावा ट्रस्टीहरूले एक निष्पक्ष लेखा परीक्षण गराएर त्यसको नतिजा फेयर वर्क अम्बड्समनलाई बुझाउनुपर्ने,  मा रहेको माइ एकाउन्ट पोर्टलमा दर्ता गर्नुपर्ने, रोजगारदाताका लागि आवश्यक पाठ सकाउनुपर्ने र कार्यस्थल सम्बन्धी तालिम लिनुपर्ने पनि आदेश दिइएको छ।

कम तलब भुक्तानी गरेर कर्मचारीहरूलाई नियम सङ्गत रूपले दिनुपर्ने रकम सन् २०२० को अक्टोबर महिनामा फर्स्योट गरिएको पनि अम्बड्समनले बताएको छ।
कार्यस्थलमा रोजगारदाता र कर्मचारीहरूको अधिकार र दायित्वहरूको बारेमा निःशुल्क सल्लाह र सहयोगको लागि www.fairwork.gov.au जानुहोस् वा १३ १३ ९४ मा फोन गर्नुहोस्। नि:शुल्क दोभासे सेवाका लागि भने १३ १४ ५० मा फोन गर्नुहोस्। साना व्यवसायहरू लक्षित स्रोत सामाग्रीका लागि Small Business Showcase जानुहोस्।

Share
Published 24 March 2022 4:41pm
Updated 26 March 2022 7:56am
Source: FWO


Share this with family and friends